पार्टीको सातै तहको सुझाव लिएर मात्र चुनावी तालमेल : सिंह


काठमाडौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन् ।

काभ्रेको धुलिखेलमा विहीबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सवै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन् ।

‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति र ६ हजार ७ ४३ वडा कार्यसमितिको सुझाव लिएर मात्र निर्णय गर्दा राम्रो हुन्छ,’ नेता सिंहले भने, ‘पार्टीको हित हुने, संविधान जोगाउनको लागि, संघीयतालाई संस्थागत गर्नका लागि, विकास निर्माणका कार्य अगाडि बढाउनका लागि र सुशासनलाई सर्वोपरी हितमा राखेर कदम अगाडि बढाउनु पर्छ ।’

उनले १४ औँ महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको जिकिर गर्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताए । ‘कांग्रेस भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ । अब त्यही अनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ ।’

प्रतिगमन रोक्न पाँच दलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको उनले बताए ।

‘गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार हो । संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ,’ सिंहले भने, ‘त्यही अनुसार निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाएको छ ।’

प्रतिक्रिया