नेपालमा पर्न थाल्यो रुस–युक्रेन युद्धको प्रभाव, खाने तेलमा मनपरी मुल्यवृद्धि


काठमाडौं – रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले युक्रेनमाथि सैन्य कारबाही शुरु गरेपछि तनाव अझ चर्किको हो । रुस र युक्रेनमा तनाव बढेसँगै विश्व बजारमा आर्थिक तथा व्यापारिक क्षेत्रमा प्रभाव थालेको छ । उक्त दुई देशबीच चर्किएको विवादले नेपालमा समेत असर देखिन थालेको छ ।

नेपालले लामो समयदेखि युक्रेनसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसैले, पनि नेपालमा युक्रेनमा भएको द्वन्द्वले वैदेशिक व्यापारमा असर पर्ने देखिन्छ । युक्रेनबाट कच्चा पदार्थ आयात हुन नसक्ने भन्दै अधिकाशं वस्तुको मूल्य बढ्न थालेको खुद्रा व्यवसायीहरुले बताएका छन् ।

नेपालले वार्षिक १७ अर्ब बराबरको वस्तु आयात गर्दै आएको छ । नेपालमा युक्रेनबाट आयात हुने खाने तेलको ठूलो हिस्सा छ । जसले गर्दा नेपालमा खाद्यान्न तेलको मूल्य बढ्नेदेखि अभाव हुन सक्ने धेरैले अनुमान गरिएको छ । भन्सार विभागको तथ्याङ्अनुसार नेपालमा युक्रेनबाट चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

साथै, आयातित वस्तुबाट नेपालले २ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । युक्रेनबाट नेपालले अर्बौको आयात गर्दै आएकोमा नेपालबाट भने १५ लाखको मात्रै वस्तु निर्यात गरेको छ । जुन नयन्य जस्तै हो । नेपालले ७ महिनाको अवधिमै युक्रेनसँग १४ अर्ब ८२ करोड १८ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

युक्रेनबाट नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको ५ करोड ७३ लाख ६४ हजार केजी सन्फ्लावर दाना आयात गरेको छ । त्यसपश्चात नेपालले युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ लाख केजी तोरीको दाना आयात गरेको भने ७९ करोड ४७ लाख रुपैयाँको भटमासको कच्चा तेल र ३ करोड ७५ लाख रुपैयाँको सन्फ्लावरको कच्चा तेल आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ७ महिनाको अवधिमा नेपालले १ करोड १९ लाखको धनिया, १ करोड १२ लाखको केराउ, ५ करोड २८ लाखको बोतल तथा बट्टाको बिर्र्को, ८१ लाख रुपैयाँको सुनजन्य पदार्थ, २७ लाखको भेटनरी खोफगायत अन्य विभिन्न वस्तुहरू आयात गरेको छ । नेपालबाट युक्रेन जाने वस्तुको निर्यात भने जम्मा १५ लाख रुपैयाँको मात्रै छ ।

नेपालबाट युक्रेन जाने वस्तुमा ग्रीन टी, यार्सागुम्बा, बाजा, अगरबत्ती, फेल्ट, कार्पेट, महिलाको कटन कोट, धागो, चाँदीका गहना, अन्य गहनाहरू, काठका फर्निचर, काष्टकलाका सामान रहेको भन्सार विभागको माघसम्मको तथ्यांकले देखाएको छ । यो वर्ष नेपालबाट १५ लाख ७८ हजार रुपैयाँका निर्यात युक्रेनमा भएको छ ।

यसैबीच रुस–युक्रेन युद्ध सुरु भएसँगै नेपालका तेल उद्योगीले मनपरी मूल्य बढाउन थालेका छन् । खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार केही समय अघिमात्र खाने तेलको मूल्य लिटरमा ४० रुपैयाँसम्म बढेको थियो । लिटरमा ४० रुपैयाँ बढाएका तेल उद्योगीहरुले युक्रेनमा युद्धको असर देखिएको भन्दै पुनः मूल्य बढाउन थालेका हुन ।

बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य २३० र २४० मा झरिसकेको भएपनि पुनः १५ देखि २० रुपैयाँ बढेको नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष बज्राचार्यले बताए । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरु भने पछिल्लो समय तेलको मूल्य बढेको विषयमा जानकार नभएको जनाएका छन् । विभागका निर्देशक हरी पंगेनी केही समय अघि बढेको तेलको मुल्यको विषयमा विभागले अध्ययन गरिरहेको भन्दै पछिल्लो समय बढेको मूल्यको विषयमा जानकार नभएका बताउँछन् ।

 

प्रतिक्रिया