सेटिङमै सेयर कारोबार हुने गरेको छः अर्थमन्त्री शर्मा


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका छन् । पूँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले विभिन्न अध्ययन एवं रिपोर्टले पनि यस्तो देखाएको दाबी गरे ।

अर्थमन्त्रीले पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् । छलफलमा उनले सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले यसलाई रोक्नुपर्ने बताए ।

अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको भन्दै उनले नेपाली पूँजी बजारमा पनि यो भित्र्याउन पर्ने बताए । यसैबीच अर्थमन्त्री शर्माले इन्ट्रा डे र शर्ट सेलिङ्ग कारोबारको तत्काल व्यवस्था गर्न धितोपत्र बोर्ड र नेप्सेलाइ निर्देशन दिएका छन ।

सेयर बजारमा देखिएका समस्याहरु र ती समस्याहरुको समाधानको गर्दै सेयर बजारको विकास र स्थायित्वको लागि धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालको सक्रियतामा आयोजना गरिएको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेको बिचमा राम्रो सहकार्य हुन नसकेको पनि औल्याए ।

ब्रोकर मार्फत मार्जिन लेन्डिंग, डेरिभेटिभ मार्केट, अक्सन मार्केट, ब्रोकरहरुको संख्या र क्षमता थप्ने कुरा , टिएमएसमा देखिएका समस्या हरुलाई समाधान गर्नेजस्ता विषयहरुलाई प्राथमिकतामा राख्दै काम अघि बढाउन पनि उनले निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले हाल सक्रिय रुपमा १० लाख भन्दा धेरैले दोश्रो बजारमा कारोबार गरिरहेको र ५० लाख भन्दा बढी डिम्याट खाता खुलिसकेको भन्दै धेरै जनताको सहभागिता रहेको बजारको विकास र स्थायित्वको लागि अर्थमन्त्रालय गम्भीर रहेको स्पष्ट पारेका छन ।

 

प्रतिक्रिया