युक्रेन र रसियासंग १८ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा


काठमाडौं – युक्रेन र रसियासंग पछिल्लो ७ महिनामा १८ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार माघसम्म दुवै देशसँग संयुक्त रुपमा १८ अर्ब ५८ करोड ३५ लाख २७ हजार रुपैयाँ व्यापार घाटा भएको हो । विभागको तथ्यांक अनुसार यस अवधिमा दुई देशबाट १८ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको सामान आयात भएको छ ।

यस्तै यस अवधिमा नेपालबाट १५ करोड २६ लाख ८६ हजार रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ । नेपालबाट मुख्यतया कार्पेट, चिया, पश्मिना, यार्सागुम्बालगायतका सामानहरु निर्यात भएका छन् । युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबाट सामान आयात गरेको छ भने नेपालले युक्रेनमा १५ लाख ७८ हजार रुपैयाँको मात्रै सामान निर्यात गरेको छ ।

युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार लिटर कच्चा सूर्यमुखी खाने तेल आयात भएको छ । कोल्जाको बिउ ३ अर्ब ९५ करोड रुपैयाँको आयात भएको छ । भटमासको कच्चा तेल पनि ७९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ । युक्रेनमा २ लाख ८४ हजार रुपैयाँ बराबरको कार्पेट, १ लाख ९३ हजार रुपैयाँ बराबरको यार्सागुम्बा, १ लाख ६१ हजार रुपैयाँ बराबरको चियालगायतका सामाग्री निर्यात भएका छन् ।

त्यसैगरी, रसियाबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजारको सामान आयात गरेको छ भने रसियामा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । रसियाबाट सबैभन्दा बढी आयात १ करोड ५२ लाख २८ हजार ४ सय ५७ लिटर कच्चा सुर्यमुखी खाने तेल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ७८ लाख ४५ हजार १ सय किलो तोरीको दाना ७५ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ।

रसियामा ७ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको कार्पेटका वस्तुहरु, चिया ६ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपाली व्यवसायीले युक्रेन, क्यानडा, ब्राजिलबाट सनफ्लावर र भटमासको तेलको कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आइरहेका छन् । केही वर्षदेखि भटमास र सनफ्लावर तेल नेपालको प्रमुख निर्यात हुने वस्तुभित्र पर्दै आएको छ ।

प्रतिक्रिया