

८ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

काठमाडौं – नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । फागुन १८ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।
यो ट्रेजरी बिल चैत १५ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ जेठ १७ गते परिपक्व हुनेछ । यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

