गाैतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न


रुपन्देही – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समयअनुसार आज आइतवार क्यालिब्रेशन फ्लाइट सम्पन्न भएको हो ।

गएको फागुन ५ गते नेपाल आएको एरो थाईको जहाजले आजसम्म तोकिएको उडानहरू पूरा गरेको प्राधिकरणले जनाएको छ। आज सकिएको क्यालिब्रेशन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ ।

यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) विभागले प्रकाशित गर्छ । जसका आधारमा विमानस्थल उडानयोग्य भए/नभएको निश्चित हुन्छ । पूर्वनिर्धारित तालिकाअनुसार जहाज भोलि साेमवार थाइल्यान्ड फर्कनुपर्ने थियो ।

तर उपकरण जडित जहाज नेपाल आएको मौकामा झन्डै आधा दर्जन आन्तरिक विमानस्थलहरूमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ। त्यसै कारण जहाज आउने मार्च ४ तारिखसम्म नेपालमा नै रहनेछ । यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाडाैंमा क्यालिब्रेशन उडानको तयारी छ ।

प्रतिक्रिया