एमसीसीमा सत्तामै रहेका दलले भ्रमको खेती गरे : मीनेन्द्र रिजाल


काठमाडाैं – नेपाली कांग्रेसका नेता तथा सांसद डा. मीनेन्द्र रिजालले एमसीसीका बारेमा भ्रमको खेती गरेको टिप्पणी गरेका छन् । आइतवार संसदमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले कसैको स्वार्थले नेपाललाई रणभूमि बनाउन लागेको गलत अर्थमा एमसीसीको व्याख्या भएको टिप्पणी गरेका छन् ।

‘हामीले मागेको प्रोजेक्टमा आउन लागेको सहायता लिन्नँ भनेर देशको विकास कसरी हुन सक्छ ? सहायता आयो भने अमेरिकी कानून लाग्छ भनेर बखेडा झिक्ने गरिएको छ,’ रिजालले भने । एमसीसीमा जुनसुकै प्रकारको व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौतामा अहिले भएको प्रावधानमा कुनै फरक नपर्ने उनले बताए ।

संसदमा एमालेलाई इंगित गर्दै रिजालले भने, ‘एकै ठाउँमा सत्तामा बस्नुभएको छ । आफ्नै पार्टीका १४ जना सांसदलाई निकाल्न गरेको माग पूरा गरौं । अनि मात्रै संसद चल्छ नभए एमसीसीबारे छलफल गर्न सकिन्न भन्नुहुन्छ ।’ चीन र अमेरिका दुवैबाट फाइदा लिनुपर्ने भन्दै नारा लगाएर मात्रै लोकतन्त्र बलियो नहुने उनले बताए ।

प्रतिक्रिया