रुस–युक्रेनबीच जारी द्वन्द्वको असर कच्चा तेलमा, तेलको मूल्य प्रतिब्यारेल १ सय डलर नाघ्यो


काठमाडौं – रुस–युक्रेनबीच जारी द्वन्द्वको असर असर कच्चा तेलमा देखिएको छ । युक्रेनमाथि रुसले हमला गरेको पहिलो दिन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ११ अंकले वृद्धि भई एक सय पाँच डलर प्रतिब्यारेल पुगेको छ । बुधबार भने कच्चा तेलको भाउ ९४.१२ डलर प्रतिब्यारेल थियो । रुसले युक्रेनमा सैन्य कारबाही तथा क्षेप्यास्त प्रहार गरेपछि अमेरिकासँग रुसको विवाद चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य महँगिएको हो ।

यसअघि सन् २०१४ मा कच्चा तेलको भाउ एक सय डलर प्रतिब्यारेल पार गरेको थियो । त्यतिखेर ४ अगस्ट ०१४ मा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य एक सय पाँच डलर प्रतिब्यारेल थियो । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युक्रेन–रुसबीच द्वन्द्व झनै चर्किने देखिएकाले आगामी दिनमा कच्चा तेलको भाउ अझै वृद्धि हुने अनुमान गरिएको छ ।

युक्रेनमाथिको आक्रमणलाई लिएर रुसमाथि अरु राष्ट्रले प्रतिबन्ध लगाएमा तेलको आपूर्तिमा ठूलो गिरावट आउन जान्छ, यसले मूल्य बढ्न जान्छ । एक महिनाअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८६ अमेरिकी डलर हाराहारीमा थियो भने एक वर्षअघि ६६ डलर हाराहारीमा थियो ।

कच्चा तेलको मूल्य बढ्दा नेपाललाई पनि असर पर्छ । नेपालमा भारतको सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट सबै प्रकारका पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । भारतीय आयल कर्पोरेसनले हरेक १५–१५ दिनमा तेलको नयाँ मूल्य सूची पठाउने गरेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपाललाई पनि मूल्यसूची बढेर आउने गर्छ ।

कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ एक डलरले वृद्धि हुँदा आइओसीले घरेलु बजारमा ४० पैसा प्रतिलिटरले मूल्य बढाउने गरेको छ । यसको सोझो असर नेपालमा पनि पर्ने देखिन्छ । त्यस्तै, इन्धन आपूर्ति अवरुद्ध हुने त्रासका कारण ग्यासको मूल्यसमेत ह्वात्तै बढेको छ ।

बेलायतमा ग्यासको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ । युरोपमा डच टीटीएफको मूल्य बढेर घण्टाको प्रति मेगावाट १२५ पुगेको छ । युक्रेनमा विकसित पछिल्लो घटनाक्रमपछि विश्व शेयर बजारमा पनि निकै ठूलो हलचल मच्चिएको छ ।

 

प्रतिक्रिया