एमसीसीकै कारण माओवादी केन्द्र सरकारबाट बाहिरिएला ?


काठमाडौँ– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौंता निर्णयार्थ पेस हुनु अघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबुल गरिए सरकार छोड्ने, पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडानसमेत राखे।

एमसीसी संसदमा टेबुल भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णयअनुसार अब आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पारे। नेता श्रेष्ठले एमसीसीजस्तो नेपाललाई दूरगामी असर पुर्याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिंगो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौंतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध पारिरहेको बेला संसदमा टेबुल गरेको भन्दै आपत्ति जनाए।

संसदमा सो सम्झौता टेवल गरेर सरकारले लोकतन्त्रकै उपहास गरेको उनको आरोप थियो। नेता श्रेष्ठले सो सम्झौतालाई संसदबाट असफल बनाउन सम्पूर्ण सांसदहरु र नेपाली जनतालाई पनि आह्वान गरे। उनले भने, ‘हामी एमसीसी सम्झौताको विरुद्धमा छौं । यसलाई कुनै पनि हालतमा स्विकार गर्न सकिदैन। संसदबाट अनुमोदन गर्न सकिदैन भन्ने हाम्रो विचारमा हामी दृढ छौं। किनभने यो राष्ट्रियताको पक्षमा उभिने वा राष्ट्रघात र राष्ट्रिय आत्म समर्पणको पक्षमा जाने भन्ने विषय हो। यो संवेदनशील विषय हो।’

प्रतिक्रिया