जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन : ज्ञानेन्द्र शाह


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको स्मरण गराएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले अरुले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने बताएका छन्।

‘आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन। प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतस्फुर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न छ।’

राष्ट्रियताविनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुने शाहको तर्क छ। ‘न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ,’ उनले भनेका छन्।

प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको विज्ञप्तिमा उल्लेख छ। ‘यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनु पर्दछ,’ उनले भनेका छन्।

No description available.

प्रतिक्रिया