

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ। नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहेको छ। यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ।
आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उनीहरुबीच एमसीसी र महाअभियोगका बारेमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

