निर्वाचन आयोगले भन्यो : विनोद चौधरी विधान सम्मत् केन्द्रीय सदस्य


काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग गर्दै परेको उजुरीमा कारबाही गर्न नपर्ने निर्णय गरेको छ ।

चौधरीका निकटतम प्रत्यासी सुभाषचन्द्र यादवले चौधरी अवैधानिक बाटोबाट केन्द्रीय सदस्य बनेको भन्दै उनको पद खारेज गरी आफ्नो नाम समावेश गर्न निवेदन दिएका थिए ।

आयोगको १८ माघमा बसेको बैठकले यादवको उजुरीमाथि थप कारबाही गरिरहनु नपर्ने निर्णय गरेको हो । कांग्रेस विधानअनुसार चौधरी कांग्रेसको १० वर्षसम्म क्रियाशील सदस्य नरहेको दाबी गर्दै यादवले निर्वाचन समितिमा उजुरी गरेका थिए ।

तर, निर्वाचन समितिले उनको उजुरी खारेजी गरेको थियो । पछि यादवले निर्वाचन आयोगमै उजुरी गरेका थिए । आयोगले त्यसबारे कांग्रेसको केन्द्रीय निर्वाचन समितिसँग समेत सोधेको थियो । आयोगले पार्टीको निर्वाचन समितिले पहिल्यै विधान, निर्देशिका बमोजिम उजुरी खारेजी गरेको देखिएको भन्दै त्यसमाथि थप कारबाही गर्नुपर्ने नदेखिएको स्पष्ट गरेको हो ।

‘चौधरीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने योग्यता नपुगेको भनी निवेदकले केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेकोमा उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन गरी नेपाली कांग्रेसको विधान, नियमावली र निर्वाचन निर्देशिका बमोजिम निवेदन खारेज गरेको देखिएको र सो निर्णय निर्वाचन निर्देशिका, २०७८ को दफा १० बमोजिम अन्तिम हुने भनी लेखी आएको हुँदा निवेदन उपर थप कारबाही गरिरहन परेन,’ आयोगको निर्णयबारे आयोगका कानुन अधिकृत मोहनराज जोशीले भनेका छन् ।

प्रतिक्रिया