केही महिनामै कोरोना महामारी अन्त्य हुन सक्छः डब्ल्यूएचओ


काठमाडाैँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना रहेको बताएको छ।  डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७० प्रतिशत मानिसले कोरोना खोप लगाएको अवस्थामा आगामी जुनदेखि जुलाईसम्ममा कोरोनाको कठिन चरण समाप्त हुने बताएका हुन्।

शुक्रबार दक्षिण अफ्रिकामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गेब्रेयेससले भने, ‘यदि ७० प्रतिशतलाई खोप लगाउन सकियो भने कठिन चरण साँच्चै नै अन्त्य हुन सक्छ र यो हाम्रो अपेक्षा हो। यो हाम्रो हातमा रहेको कुरा पनि हो। यो सम्भावनाको कुरा होइन, यो छनोटको कुरा हो।’

उनले दक्षिण अफ्रिकाले बनाइरहेको नयाँ प्रविधिको सस्तो कोरोना खोपले महामारी नियन्त्रणको लागि थप सहयोग गर्न सक्ने बताएका छन्।यसअघि डब्ल्यूएचओकी अफ्रिका प्रमुखले अहिले अफ्रिका कोरोना महामारीबाट बाहिर आउने प्रयासमा रहेको बताएकी थिइन्।

अफ्रिकामा अहिले केवल ११ प्रतिशत मानिसले मात्र कारोना खोप लगाएकाले महामारीबाट बाहिर आउन अफ्रिकामा कोरोना खोप अभियान ६ गुणाले बढाउनु जरुरी रहेको डब्ल्यूएचओले बताएको छ।

प्रतिक्रिया