१५ वर्षमा विवाह, १६ वर्षमै आमा : पर्दैनन् उजुरी


कामठाडाैँ –  १५ वर्षको उमेरमै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षीया सुस्मिता बिकले पाँच सन्तानलाई जन्म दिइन्। उहाँ १६ देखि आमा बन्न थालेकी सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षका छन्।

‘सानै उमेरमा बिवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्या छ,’ दृष्टिबिहिन सुस्मिताले भनिन्, ‘अहिले श्रीमानले पनि छोडेर जानुभयो । सडकमा गीत गाएर छोराछोरी पाल्दै आएकी छु।’

रघुगङगा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया मनिषा विश्वकर्माले पनि चार सन्तान जन्माएकी छन्। छोरा जन्माउने आशमा परिवार नियोजनका साधन प्रयोग नगरेको उनी बताउँछिन्। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी विकले बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा समस्या भए पनि छोरालाई मान्यता दिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माउनु परेको गुनासो गरिन्।

ताकमकी सुस्मिता र मनिषा जस्तै कम उमेरमा बिवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जन्माउने अहिले पनि म्याग्दीमा धेरै छन् । शारीरिक तथा मानसिक रुपमा परिपक्क नभई सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने बेनी अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए।

कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। तर, बेनी जिल्ला अस्पतालको पछिल्लो दुई वर्षको अभिलेखमा गर्भ जाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनीका किशोरीको संख्या अत्यधिक छ।

आर्थिक वर्ष २०७६/७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका १४९ किशोरी सुत्केरी भएका थिए । सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकामा आठ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो । त्यसैगरी आव २०७७÷७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बनेको तथ्यांक छ।

सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन गराएका मध्ये सात किशोरीको शल्यक्रिया गरिएको थियो।

जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र हेरिएको छैन । मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेटको बढ्दो कुलत र गलत सङ्गतलाई जिम्मेवार मानिएको छ। जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक–एक वटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन्।

प्रतिक्रिया