इमर्जिङ्ग नेपालको आईपिओमा दुई दिनमै ३१ गुणा बढी आवेदन


काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडले हिजो (बुधबार) देखि निष्कासन गरेको आईपीओमा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ३१.१३ गुणा बढी हुन आउछ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन १ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया