

उपत्यकाका सिडिओहरूको बैठक बस्दै

काठमाडौं – काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) छलफल गर्न बैठक बस्ने भएका छन् ।
आइतबार अपरान्ह ५ बजे बैठक बस्न लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए ।
उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने रिजालले बताए। ‘अहिले छलफल भइसकेको छैन। पाँच बजेतिर बस्छौँ। सिसिएमसीको पनि केही सिफारिस आउला,’ उनले भने, ‘अघिल्लो आदेशले रोकेको संस्थाहरूको विषयमा पनि छलफल होला। आजै आदेश आउँछ।’
सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । यस्तै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

