पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षविरुद्ध अख्तियारमा उजुरी


काठमाडाैं – लाखौँ उठाउन बाँकी रकमको प्रमाण नष्ट गर्ने काममा संलग्न भएको भन्दै पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ८ का एक स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा कोषाध्यक्ष सुवेदीले राजनीतिक स्वार्थको आधारमा गत शनिबार पशुपति क्षेत्र विकास कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्रमाण लुकाउने काममा लागेको आरोप लगाइएको छ ।

तिलगंगास्थित प्राणनाथ क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप बाहिर पठाएको विषयमा स्थानीयले अख्तियारको ध्यानकर्षण गराएका छन् ।कोषाध्यक्ष सुवेदीले नेकपा (एकीकृत समाजवादी) का नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको क्याफेभित्र रहेका कोषका सामग्रीहरू मुचुल्का नउठाइ बाहिर पठाएको स्थानीयको आरोप छ ।

कोषका एक कर्मचारीकाअनुसार लम्सालले गत कात्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम तिर्न बाँकी रहेको छ । कोषाध्यक्ष सुवेदीले पदीय दुरुपयोग गरी कोषका सुरक्षाकर्मी र पार्टीनिकट कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ३५ देखि ४० लाख रुपैयाँसम्मका भान्सालगायतका सामग्रीहरू लम्साललाईबिना मुचुल्का दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया