अमेरिकाले आफ्नो देशलाई जबरजस्ती युद्धमा धकेल्ने प्रयास गर्दैछ : राष्ट्रपति पुटिन


एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

युक्रेन संकट गहिरिँदै गएका बेला लामो समयपछि सार्वजनिक रुपमा बोल्दै पुटिनले यस्तो आरोप लगाएका हुन्। रुसमाथि थप प्रतिबन्धको बहानाका लागि अमेरिकाले युद्ध चाहेको पुटिनको आरोप छ।

यद्यपि उनले वार्ताको सम्भावनालाई अस्वीकार नगरेको बिबिसीले जनाएको छ। अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ। उनले युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्यहरू राष्ट्रहरूलाई पनि रुससँग युद्धमा तान्न सक्ने चेतावनी दिए।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशमाथि हुने कुनै पनि रुसी आक्रमणले युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन। उनले त्यस्तो भएमा त्यो निकै दुःखद् हुने भन्दै युद्ध नचाहेको देखाउने रुसको एकमात्र तरिका भनेको युक्रेनको सिमानाबाट आफ्ना सेना फिर्ता गर्नु भएको बताए।

रुसले युक्रेनको सिमानामा ठूलो संख्यामा सेना तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ। तर युक्रेनमा आक्रमण गर्न लागेको आरोपलाई रुसले पटक पटक अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया