वीर अस्पताललाई ३० आईसीयू बेड सहयाेग


काठमाडाैं – निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड सहयाेग गरेको छ । आज साेमवार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताए । उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।

नेता पोख्रेलले प्रतिष्ठानमा अहिले एक सय ५० वटा आईसीयू बेड भएको र ती बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिए ।

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए । उनले प्रतिष्ठानले दिएका ३० बेड आजदेखि नै सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया