

कोटेश्वरमा टिपर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं – कोटेश्वरमा नम्बर नखुलेको टिपर र मोटरसाइल आपसमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना घाइते भएका छन् ।
तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका लिम्बुको ट्रमा सेन्टरमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

