विदेशबाट आएका व्यक्तिलाई बाटो बीचबाटै अपहरण गरेको आरोपमा तीन जना पक्राउ


काठमाडौं – विदेशबाट आएका व्यक्तिलाई बिच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सन्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुर गढी गाउँपालिका घर भई हाल काठमाडौं १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबई बाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटेल कञ्चनजङ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए ।

उनीहरूले काठमाडौं महानगरपालिका २७ ज्याठास्थित होटेल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार उनीहरूले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए । उनीहरूले रामको झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया