प्रचण्ड-नेपाल समूहका पदाधिकारीको पेरिसडाँडामा भेला


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ ।

पहिलो दिन आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको हो ।

यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड—माधव नेपाल पक्षले गरिसकेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने बताईएको छ ।

पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।

प्रचण्ड—माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने भएको छ ।

संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो ।

भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ ।

प्रतिक्रिया