काठमाडौं र भक्तपुरमा आज सुरु भएन बुस्टर डोज, ललितपुरमा जारी


काठमाडौं – उपत्यकामा आजबाटै सुरु गर्ने भनिएकाे बुस्टर डाेज खाेप कार्यक्रम काठमाडौं र भक्तपुरमा आज सुरु हुन सकेन । यद्यपी ललितपुर जिल्लामा भने आज (आइतबार)बाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

काठमाडौं जिल्लामा भने भोलि (सोमबार)बाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।

यस्तै, काठमाडौंबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरे पनि केही प्राविधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएकाे छ ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया