
हिमालय एयरलाइन्सको जहाजबाट पैसा र सामान चोरी
काठमाडौं – हिमालय एयरलाइन्सको जहाजबाट यात्रुको ८ सय डलर चोरी भएको छ। गत २७ पुसमा दिउँसो १ बजेर ४५ मिनेटको फ्लाइटमा काठमाडौंबाट ढाका पुगेका यात्रुको लगेजबाट डलर हराएको हो ।
डलर चोरी भएको सर्लाहीकी नित्या कार्कीको हो। आफ्नो पैसा हराएको भन्दै कार्कीले यतिबेला वायुसेवा कम्पनीमा पत्राचार गरेकी छन्। ढाका विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा पनि केही प्रमाण भेट्न नसकेकोबारे उनले उक्त पत्रमा उल्लेख गरेकी छन्।
उक्त डलर राखिएको खाम नै च्यातेर पैसा चोरिएको कार्कीले बताएकी छन्। लगेजभित्र रहेको बंगलादेशको पैसा (टाँका) जस्ताको तस्तै रहेपनि खानेकुरा र वानप्लस फोनको चार्जरसमेत चोरिएको कार्कीको दाबी छ।
विमानस्थलमा पुगेपछि यात्रुको लगेज जहाज चढाउनेलगायतका ग्राउण्ड ह्याण्डलिङको काम वायुसेवा निगमले गर्ने गर्छ।
ग्राउण्ड ह्याण्डलिङको काम वायुसेवा निगमले गर्नै भन्दै एयरलाइन्स पन्छिन खोजेको छ। यस्तो गल्ती त यहाँ भइरहन्छ त्यसमा यात्रु आफैं सचेत हुनुपर्छु भनेर एयरलाइन्सले यसलाई सामान्य रूपमा लिएर पन्छाउन खोजेको आरोप कार्कीको छ।
यता, हिमालय एयरलाइन्सका एक अधिकारीका अनुसार यसबारे कम्पनीको आन्तरिक टोलीले छानबिन गरिरहेको छ।
मेडिकल विद्यार्थी कार्की ढाका पुगेको पहिलो पटक होइन। विगत ६ वर्षदेखि उनी नेपाल आउने–जाने गरिरहेकी छन्।ढाकामा जहाज अवतरण भएपछि मात्र आफ्नो झोला च्यातिएको अवस्थामा देखेकी थिइन्।



कागजपत्र |
