कोरोना त्रास : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ


काठमाडौँ – आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ।

कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गर्न थालेको हो। अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिने गरिएको छ।

विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको जानकारी दिए।

‘विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो,’ उनले भने, ‘यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरेका छौँ।’

पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यस्तो समस्या अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा भएको छ।

आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रु खचाखच हुने गरेको छन् । भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । मास्क अनिर्वाय, स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रुलाई अनुरोध गरेको छ।

त्रिभुवन विमान स्थलबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक गुरागार्इँका अनुसार अन्तर्राष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन्।

दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३ सय हाराहारी उडान हुने गरेको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी० को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन्।

कोभिड सङ्क्रमण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो ।

प्रतिक्रिया