लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु
काठमाडौं – कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षाहरूसँग जोडिएका मुद्दाको बिहीबार सुनुवाइ सुरु भएको छ ।
हेर्न नमिल्ने भन्दै करिब चार महिनादेखि पटक पटक स्थगित मुद्दा सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।
लोक सेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा लामो समयसम्म स्थगन हुँदै सयौँ परीक्षार्थिहरु त मारमा परेका छन् नै सोहीबारे परेका रिटहरूमाथि अदालतले दिएका अन्तरिम आदेशहरूले थप हजारौँ युवाहरूमा अन्यौलता सिर्जना भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोग दुबैका आ–आफ्ना कमजोरीको सिकार परीक्षार्थिहरुलाई बनाउनु हुँदैन ।
हजारौँ युवाहरूको भाग्य र भविष्यसँग जोडिएको विषयमा दायर रिटमाथि अदालतले प्राथमिकताका साथ सुनुवाइ टुङ्गोमा पुर्याउन सके करिब आधा दर्जन बढी परीक्षाहरू सुचारु हुने देखिन्छ ।