

हिंसात्मक प्रदर्शनबीच रुसले नेतृत्व गरेको सैन्य बल काजकस्तान प्रवेश

एजेन्सी – सरकार विरोधी प्रदर्शन जारी रहेका बेला काजकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बलको एउटा टुकडी काजकस्तान प्रवेश गरेको छ।
इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको छ। अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्।
राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका ‘आतङ्कवादीहरू’ माथि पछिल्ला घटनाका लागि दोष दिएका छन्।
बुधवारको एउटा टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ) लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गरेका थिए।
उक्त सङ्गठनमा रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्। हाल काजकस्तानमा पठाइउन लागिएको कुल सैन्य सङ्ख्या २,५०० रहने बताइएको छ। सीएसटीओले ती सुरक्षा अधिकारीहरू शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ।
उनीहरू काजकस्तानमा केही दिन वा केही हप्ता बस्न सक्ने एक रुसी समाचार संस्थाले जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ।
प्रदर्शन चर्किएसँगै काजकस्तानमा सङ्कटकाल घोषणा गरिएको छ। सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको हो।
मूल्य वृद्धि फिर्ता लिने पछिल्लो सरकारी कदमले प्रदर्शनकारीहरूलाई शान्त बनाउन सकेको छैन। काजकस्तानमा रातभरि हिंसा जारी रहेको बताइएको छ। अधिकारीहरूले एलमाटी सहरको एउटा प्रमुख चोकमा पुनः नियन्त्रण कायम गरेका छन्।
कैयौँ प्रदर्शनकारीहरू मारिएको बताइएको छ तर त्यसको यकिन सङ्ख्या भने प्राप्त हुन सकेको छैन। अधिकारीहरूले सुरक्षा निकायका १८ जना मारिएको जनाएका छन्।

