यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ


काठमाडौं – यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो

लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ११ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका(२ उदयपुर घर भएका २४ वर्षीय अजय मगर, राजघाट गाउँपालिका(७ घर भएका २४ वर्षीय हेमबहादुर मगर, तापाश्री गाउँपालिका(९ घर भएका २७ वर्षीय सुरज मगर, जानकी गाउँपालिका(३ सर्लाही घर भएका १९ वर्षीय साजन मगर, चन्द्रनिगाहपुर नगरपालिका(१ रौतहट घर भएका ३३ वर्षीय विश्वबल्लभ लामा, भरतपोखदरी गाउँपालिका(९ कास्की घर भएका २४ वर्षीय सृजन थापा रहेका छन् ।

यस्तै चन्द्रनिगाहपुर बस्‍ने २४ वर्षीय सुवास योञ्जन लामा, लमजुङ घर भएका ३२ वर्षीय मेघराज गुरूङ, बाँके घर भएका १९ वर्षीय सुशान गिरी, काठमाडौँको नागार्जुन घर भएका २८ वर्षीय लक्ष्मण सुनुवार र रामेछाप घर भएका ३२ वर्षीय विज्ञान सुनुवार रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया