उखु किसान आन्दोलनमा सहभागी संख्या बढ्दो क्रममा
काठमाडौं – उखु किसानहरुको आन्दोलनमा सहभागी हुने किसानहरुको सहभागीता बढ्दो क्रममा देखिएको छ । चिनी उद्योगलाई उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै देशभरबाट आन्दोलनमा सहभागी हुनका लागि किसानहरु आइरहेका छन् ।
माइतीघरमा जारी रहेको आन्दोलनमा सहभागिता जनाउन बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि आएका छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडिक किसान पनि आउन थालेका उखु किसान सघंर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।
‘अब आन्दोलनमा ६ जिल्लाका किसान सहभागी छन्,’ उनले भने, ‘बारा पर्सा, रौतहट, नवलपरासी र सर्लाहीबाट पनि थप किसान आन्दोलनका लागि काठमाडौं आएका छन् ।’ माइतीघरको आन्दोलनमा सहभागतिा जनाउने किसान संख्या अब तीन सयको हाराहारीमा पुगेको पनि संघर्ष समितिले जनाएको छ ।
किसानको हातमा पैसा नआएसम्म कुनै पनि हालतमा वार्ता नगर्ने अडान आफूहरुले लिएको उनको भनाइ छ ।