सन् २०२१ मा प्रविधि : डोनल्ड ट्रम्प, फेसबुक, मेटाभर्स, एनएफटी र ह्याकर चर्चित बनेको वर्ष


एजेन्सी – सन् २०२१ ले प्रविधिका दुई नयाँ शब्दलाई चर्चित बनायोस् मेटाभर्स र एनएफटी। फेसबुकले नाटकीय रूपमा नयाँ मार्ग लिँदै भर्चुअल रियालिटीको संसारतिर यात्रा सुरु गर्‍यो। शृङ्खलाबद्ध लकडाउनका बेला पनि चुलिएको इन्टरनेटले थोरै मात्रै ठक्कर खायो। र हामीले हाम्रो उपकरणमा प्रयोग हुने चीप्स चाहे जति उपलब्ध नहुने कुरा थाहा पायौँ।

सन् २०२० को अन्त्यमा राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि डोनल्ड ट्रम्पले सन् २०२१ मा समाचारमा छाउन छोडेनन्। ज्यानुअरी ७ मा मतदाता अनियमिततासम्बन्धी मिथ्या दाबी लेखेपछि उनलाई ट्विटरले १२ घण्टा प्रतिबन्ध लगायो। त्यसको केही दिन पछि उनलाई ट्विटरमा स्थायी प्रतिबन्ध लगाइयो। जुन ट्वीट लेखेका कारण उनीमाथि प्रतिबन्ध लाग्यो त्यो ट्वीट केही दिनअघि अमेरिकी संसदमा हमला भएको अवस्थामा स्थिति भड्काउने खालको थियो।

यी सबै घटनाहरूले त्यसअघि राजनीतिज्ञहरूलाई मन लागेको कुराहरू प्रकाशन गर्न स्वतन्त्र छोडेका सामाजिक सञ्जालहरूलाई जिम्मेवार हुँदै कडाइ गर्नुपर्ने स्थिति बनायो। फेसबुकले पनि ट्रम्पलाई प्रतिबन्ध लगायो र छ महिनापछि जुनमा त्यो प्रतिबन्ध दुई वर्ष कायम रहने बतायो। यो समयमा फेसबुक र ट्विटरले ठूला नेताका अकाउन्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नयाँ नियम बनाए।

ह्वाट्सएपको गोपनीयताका नीति परिवर्तन गर्ने योजना निकै आलोचित बन्यो। ह्वाट्सएपका विवरण फेसबुकले पाउनसक्ने चिन्ताले दशौँ लाख प्रयोगकर्ताले प्रतिस्पर्धी एपहरू डाउनलोड गरे। फेसबुकको त्यो नाटकीय परिवर्तनको विषय नभएको तर आफूले कुरा राम्ररी बुझाउन नसकेको बतायो।

गोपनीयताका पक्षधरहरूले ह्वाट्सएपले त्यसअघि नै धेरै विवरणहरू आफ्नो माउ कम्पनीलाई उपलब्ध गराउने कुरा प्रकाशमा नआएको बताउँछन्।

केही दिनपछि आएको एउटा खबरमा ह्वाट्सएपको अद्यावधिक सर्तहरू स्वीकार नगर्नेले मे १५ पछि सन्देश पठाउन नसक्ने जनायो। आयरल्यान्डको डेटा सुरक्षा निकायलाई १९ करोड पाउन्ड जरिवाना तिर्नुपरेपछि वर्षको अन्त्यतिर उक्त कम्पनी आफ्नो गोपनीयता नीति परिमार्जन गर्न बाध्य भयो।

प्रायस् सधैँ विवादित भइरहने एन्टिभाइरस बनाउने जोन माकफीलाई वसन्त याममा ठगी मुद्दा लाग्यो। उनीमाथि मूल्य बढाउनका लागि ट्विटरमा क्रिप्टो करेन्सीलाई प्रोत्साहन गरेको अभियोग लगाइयो। त्यसबेला उनी करसम्बन्धी अलग्गै अभियोग सामना गर्दै स्पेनमा हिरासतमा थिए। केही महिनापछि स्पेनको अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न सहमत भयो।

तर त्यसको केही घण्टामा उनी हिरासतमा मृत फेला परे। उनले आत्महत्या गरेको ठानिन्छ।

विद्युतीय उपकरणमा प्रयोग चिप्सको अभावको खबर वर्षभरि नै चल्यो। महामारी एवम् घरमै बसेर काम गर्न र रमाउन अभ्यस्त हुन लागेका मानिसहरूको उपकरण आवश्यकता बढेसँगै चिप्सको माग बढी भएको थियो। एप्रिलमा सिस्को कम्पनीले पहिलोपटक कम्प्युटर चिप्स अभाव समस्या बनेको चेतावनी दिएको थियो।

तर उसले छ महिनासम्म मात्रै अभाव हुने भन्दै आशावादी चित्र देखाएको थियो जुन गलत भयो। त्यसपछि अर्को चिप्स कम्पनी आर्मका अधिकारीले यो अभाव अर्को वर्षसम्मै हुनसक्ने बताए। मेस् ट्रम्पको पुनरागमन मे महिनामा ट्रम्पले आफ्नै सञ्चार प्लेटफर्म सुरु गरेको खबर आयो। पूर्वराष्ट्रपतिले सिधै आफै कुराहरू साट्ने त्यस खबरलाई केहीले सन् १९९० ताकाको ब्लगसँग तुलना गरे।

केही पछि उनले केही महत्त्वाकाङ्क्षी प्रयास स्वरूप सन् २०२२ मा ट्रूथ सोसल नामको आफ्नै सामाजिक सञ्जाल खोल्ने बताए। जसका लागि उनले अहिलेसम्म एक अर्ब डलर जुटाइसकेका छन्। जुनमा एमजन, रेडिट, गार्डिअन र न्यूयोर्क टाइम्सजस्ता चर्चित वेवसाइटहरूमा अवरोध देखा परे।

क्लाउड सेवा प्रदायकहरूले सुरुमा जिम्मेवारी लिए। एकजना सेवाग्राहीले सेटिङ्हरू परिवर्तन गर्दा त्यस्तो समस्या उत्पन्न भएको थियो। यसले इन्टरनेट केही सीमित कम्पनीहरूको नियन्त्रणमा रहँदा पर्नसक्ने असरका रूपमा हेरियो।

प्रविधि क्षेत्रमा एक प्रमुख सफल व्यक्तित्व जेफ बेजोसले २७ वर्षपछि एमजन छाडे। आफूले स्थापना गरेको अनलाइन किनमेल कम्पनीलाई आफ्नो कार्यकालमा उनले १.८ खर्ब अमेरिकी डलर पुँजी भएको कम्पनी बनाए। यो वर्ष हामीले एनएफटीको अर्थ नन-फङ्गीबल टोकनका रूपमा बुझ्यौँ। कम बुझेको कुरा चाहिँ यो के हो भन्ने हो।

त्यो डिजिटल टोकन हो जसलाई डिजिटल सामग्री किन्न प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि १२ वर्षीय बेन्यामिन अहमदले कम्प्युटरमा कोरेका कलाकृति बेचेर स्कुले बिदामा झन्डै तीन लाख पाउन्ड कमाए। अन्यत्र बिरालोको चल्ने चित्रले ३,६५,००० पाउन्ड कमायो।

ज्याक डोर्सीले गरेको सबैभन्दा पहिलो ट्विट २५ लाख पाउन्डमा बिक्री भयो। टिम बर्नस-लीले इन्टरनेट चलाउन लेखेको पहिलो कोडको एनएफटी ५४ लाख अमेरिकी डलरमा बेचियो।

अचम्मलाग्दो एउटा चेतावनीमा शक्तिशाली मोटरसाइकलमा आईफोनको क्यामेरा प्रणाली बिग्रने भनियो।एपलले प्रकाशित गरेको विवरणमा मोटरसाइकलमा थर्किँदा आईफोनको क्यामेरालाई असर पर्ने जानकारी दिइयो।

अक्टोवरमा फेसबुकका दुई मुख्य खबरमध्ये एउटा धेरै चर्चित बन्यो। मेटा कम्पनीका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम केही घण्टा नचल्ने पनि बने।
नाम परिवर्तनसँगै उक्त कम्पनीले मेटाभर्समा केन्द्रित हुने घोषणा गर्यो। इन्टरनेटको भर्चुअल रियालिटी संस्करणको अवधारणा सन् २०२१ मा सबैभन्दा धेरै चर्चा हुने शब्दमध्ये एक बन्यो।

साइबर अपराधमा यो वर्ष निकै घटनाहरू भए। हाम्रा साइबर संवाददाताले सबैभन्दा धेरै खोजिएका ह्याकरहरू रुसमा रहेको पाए। बीबीसी मस्कोका गल्फकोर्स र अग्ला टल्कने भवनहरूमा पुग्यो जहाँ ह्याकर त भेटिएनन् तर उनीहरूले निकै धेरै पैसा कमाएको खुल्यो। रुससँग उनीहरूको सम्बन्धलाई क्रेमलिनले अस्वीकार गरेको छ।

यो वर्ष खोप, कोभिड र राजनीतिमा मिथ्या समाचारहरू ह्वात्तै बढे। षड्यन्त्र सिद्धान्त रोक्न प्रविधिले सकेन बरु फाइभजी ट्रान्समिटरले खतरनाक रेडियो विकिरण छाड्ने कुरा फैलियो। कुनै प्रमाणबिनै फैलिएका त्यस्ता विश्वासले विकिरणबाट बचाउने दाबी गरिएका नयाँ समानहरू नै बजारमा आए।

त्यस्ता सामानहरू एमजनमा समेत बिक्रीमा राखिएका थिए। तर बेल्जियमको अध्ययनले त्यहाँ विकिरणबाट बचाउने भनेर बिक्री गरिएको मालाले नै विकिरण छोड्ने पत्ता लाग्यो। बीबीसी

प्रतिक्रिया