जाजरकोटमा पहिरोमा परि १ जनाको मृत्यु, ७ घाइते, ३ जना बेपत्ता


जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी केदार कार्कीको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् ।

बाढीपहिरोमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन्।

अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो ।

आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया