सुडानका प्रधानमन्त्री हामदोकले दिए राजीनामा


एजेन्सी – सुडानका प्रधानमन्त्रीले अबदल्ला हामदोकले राजीनामा दिएका छन् । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हामदोकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने बताएका छन् ।

गत अक्टोबर महिनामा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनरबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी पुनः प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो ।

सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको थियो ।

प्रतिक्रिया