दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु


केपटाउन – दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ ।

देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो ।

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए ।

छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको पत्रकारहरूलाई बताए ।

उनले घटनाका बारेमा गम्भीर तरिकाले छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो ।

“हामीले घटनाका बारेमा यथार्थ थाहा पाउन गहिरो छानबिन गर्न आवश्यक छ, साथै आगामी दिनमा यस्ता घटना नहुनका लागि पनि दोषीलाई कारबाही हुनुपर्दछ,” उनले भने ।

आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद्को सभा हलबाट आगलागी सुरु भएको पाइएको जानकारी दिए ।

स्थानीय समयअनुसार बिहान ५।०३ मा आगलागी सुरु भएको प्रारम्भिक विवरणबाट पत्ता लागेको उनले बताए ।

आगलागीका कारण अहिलेसम्म यकिन हुन नसकेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया