केन्द्रमा देउवाले शेखरलाई पेल्ने नीति बनाउँदा लुम्बिनीमा सभापतिमा पराजित शाहलाई दोस्रो वरीयता


काठमाडौँ – प्रथम प्रदेश अधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको पहिलो बैठक बिहीबार बसेको छ। गत मंसिर १६–१८ मा भएको प्रदेश अधिवेशनबाट अमरसिंह पुनको नेतृत्वमा चयन कांग्रेसको लुम्बिनी कार्यसमितिको पहिलो बैठक बिहीबार बेलुका बसेको हो।

बैठकले पदाधिकारी तथा सदस्यको मर्यादाक्रम निर्धारणसहित आगामी कार्यायोजनाबारे निर्णय गरेको छ।

बैठकले प्रदेश सभापतिमा पराजित भरतकुमार शाहलाई दोस्रो वरीयाता दिने निर्णय गरेको छ। ‘सभापतिका प्रत्याशी भरतकुमार शाहलाई दोस्रो वरीयतामा राख्ने निर्णय भएको छ’, कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्रराज आचार्यले भने ‘त्यसपछि पदाधिकारी रहने छन्। सदस्यहरूको वरीयता जिल्लासँग समन्वय गरेर निर्धारण गर्ने निर्णय भएको छ।’

केन्द्रमा भने सभापतिमा पराजित शेखर कोइरालालाई वरीयता सूचीमा २०औं नम्बरमा राखिएको छ।
उनका अनुसार बैठकले चार वर्षको कार्यायोजना बनाउने निर्णय पनि गरेको छ। बुटवलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले कांग्रेसको लुम्बिनी प्रदेश कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक सामानबारे पनि निर्णय गरेको छ।

पार्टी कार्यालयका लागि बुटवल उपमहानगरपालिकाको तामनगरमा भवन हेरिएको र सम्भवतः त्यहीँ कार्यालय रहन सक्ने महामन्त्री आचार्यले जानकारी दिए।

तामनगर बुटवलको मुख्य बजारबाट ८ किलोमिटर पश्चिम पर्छ। बैठकअघि बिहीबार दिउँसो कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा विजयीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रदेश अधिवेशनलगत्तै केन्द्रीय महाधिवेशन भएका कारण कांग्रेसको प्रदेश निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यलाई ढिलागरी प्रमाणपत्र दिएको हो। कार्यक्रममा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सञ्जय गौतम, अब्दुल रज्जाक, चन्द्रकेसी लगायतलाई पनि निर्वाचन समितिले बधाई दिएको थियो।

प्रतिक्रिया