तीन जना भए परिषद बैठक बस्ने अध्यादेशको प्रबन्ध, देउवा र सापकोटा बिनै बस्न सकिने


काठमाडौं – प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो ।

राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।’ भनिएको छ । यसअघि प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । तर वर्तमान अवस्थामा उपसभामुख पद रिक्त छ ।

मंसिर २८ गते बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि  मंगलबार विहान बोलाएको बैठकमा देउवा उपस्थित भए तर सभामुख सापकोटा पुनः उपस्थित हुन सकेनन् । बैठक बस्न नसकेपछि राष्ट्रपति कार्यालयबाट परिषदमा बहाल सदस्यको बहुमत उपस्थित भएमा बैठक बस्न सहज हुने गरी अध्यादेश जारी गरेकी छन् ।

तस्बिर स्रोतः अनलाइन खबर

प्रतिक्रिया