प्रचण्डको प्रतिवेदनमाथि प्रतिनिधि : अमेरिकाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजियो


काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको अमेरिकाको आलोचनाबारे थप प्रष्ट पार्न माग गरेका छन् ।

अमेरिकाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजिएको त होइन भन्ने प्रतिनिधिहरुको शंका रहेको छ ।

सोलुखुम्बुका प्रतिनिधि गोम्बु शेर्पाले भने, ‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीति अन्तरगत पश्चिमा पुँजीवादले आफ्नो गतिविधि बढाएको भनिएको छ । यसको चिन्ता हामीलाई मात्रै हो कि चीनलाई पनि हो यो प्रष्ट हुनुपर्यो ।’ चीन अमेरिकासँगै मिलेको हुनसक्ने अनुमान गर्दै उनले चीन नबोलेको विषयमा हामीले किन आलोचना गर्ने भनेर प्रश्न गरे ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा अमेरिकाको आलोचना गरिएको छ । अमेरिका आफू र आफ्ना साझेदारलाई युद्धमा होम्ने योजनामा रहेको भन्दै प्रचण्डले सोही रणनीति अनुसार अमेरिकाले भारतसँग सम्बन्ध सुदृढ बनाउन खोजेको टिप्पणी गरेका छन् ।

शेर्पाले भारतप्रतिको पार्टीको दृष्टिकोण पनि प्रतिवेदनमा उल्लेख गर्न माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गरिरहेको छ ।

प्रतिक्रिया