कोरोनाविरुद्धको चौथो डोज खोप दिने पहिलो मुलुक बन्दै इजरायल


जेरुसेलम – इजरायल कोभिड-१९ विरुद्धको खोपको चौथो डोज दिने पहिलो मुलुक बन्ने भएको छ । इजरायलका महामारी विशेषज्ञले ६० वर्षभन्दा माथिका मानिसहरु र स्वास्थ्यकर्मीलाई कोरोना खोपको चौथो बुस्टर डोज दिन सिफरिस गरेका हुन् ।

विशेषज्ञको सिफारिसको स्वागत गर्दै इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज दिने तयारीको लागि निर्देशन दिएका छन् । मंगलबार इजरायलमा ओमिक्रोन संक्रमणको कारण पहिलो मृत्यु पुष्टि भएसँगै इजरायलले यस्तो योजना ल्याएको हो ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकमा ३४० ओमिक्रोन भेरियन्टसहितका संक्रमित फेला परेका छन् ।प्रधानमन्त्री बेनेटको कार्यालयले तेस्रो डोजको कम्तीमा ४ महिनापछि मात्र चौथो डोज खोप दिइने बताएको छ ।

बेनेटले चौथो डोज खोपले विश्वलाई नै समस्यामा पारेको ओमिक्रोन भेरियन्टको लहरलाई रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । इजरायलले निकै तीव्र गतिमा आफ्नो कोरोना खोप कार्यक्रम सञ्चालन गरेको थियो । यद्यपि इजरायलका ६३ प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् ।

प्रतिक्रिया