कांग्रेस महाधिवेशन : मतदान सुरु 


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जानकारी दिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए । अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् ।

प्रतिक्रिया