आफ्ना सन्तानसहित भारतमा बेचिएका १८ र १९ वर्षीया युवतीको उद्धार


पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई युवतीसहित उनीहरुका नाबालक दुई सन्तानको भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी ओमप्रकाश खनालले जानकारी दिए ।

दुई वर्षदेखि खोजतलास गर्दा भारतको विहार राज्यस्थित छौंडादानो भन्ने स्थानमा उनीहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरु आकर्षक कामको लोभमा परेर बेचबिखनमा परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई भारतबाट उद्धार गरेर नेपाल ल्याएको हो ।

उनीहरुलाई बेचबिखन गर्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया