

पूर्वअध्यक्ष कमल थापा हामीसँगै हुनुहुनेछः नवनिर्वाचित अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षहरुको मान सम्मानमा कुनै कमी हुन नदिने बताएका छन् ।
आइतबार निर्वाचनको मत परिणाम घोषणापछि प्रज्ञाभवनमा आयोजित महाधिवेशनको समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरुको साथ सहयोगबाट मात्र आफू अगाडि बढने बताए । उनले अध्यक्षका प्रत्यासी कमल थापाको पार्टीमा योगदान अतुलनीय भएको बताउँदै आगामी दिनमा थापासँगको सहकार्य अझै प्रगाढ राख्दै अगाडि बढ्ने बताए ।
अध्यक्षमा निर्वाचित लिङ्देनले भने थापा विनाको राप्रपा आफूहरुले कल्पना आफूहरुले नगरेको बताए । पूर्व अध्यक्षहरु थापासँगै पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबाट अभिभावकीय मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको भन्दै उनले भने, ‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईँहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं ।’
पार्टीले बोकेको विचारलाई जिवन्त राख्न थापाले देखाएको सक्रियतालाई कहिल्यै अवमूल्यान गर्न नसक्ने उनले बताए । अहिले पनि पार्टीमा थापाको उत्तिकै खाँचो रहेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौं ।’

