

विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौं – कोभिड-१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
हालै मात्र कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ ।
तर नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिँदै आइरहेको छ ।अहिलेसम्म विश्वका २० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाइन थालेको हो ।

