शंखमुलको बागमती अपार्टमेन्टमा किन धाइरहन्छन् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ?
काठमाडौं– पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको मृत्यु र आएको अडिओ भिडिओ प्रकरणले केही तथ्यलाई अझ फराकिलो गरी खुलाउन थालेको छ।
यस प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उनकी स्वकीय सचिवका रुपमा काम गरेकी सुसन कर्माचार्य र कमानसिंहकी कान्छी पत्नी इन्द्रामाया तामाङको नाम मुछिएको छ।
प्रवक्ता श्रेष्ठले उक्त अडिओ भिडिओ प्रकरणमा प्रारम्भिक प्रतिक्रिया दिँदै एउटा हाइड्रोपावर कम्पनीको शेयर विवादको विषयमा आफूले मिलाउन खोजेको त्यसमा गलत केही नभएको बताएका छन्।
तर शंखमुलमा रहेको बागमती अपार्टमेन्टस्थित उक्त हाइड्रोपावर कम्पनीमा श्रेष्ठ बारम्बार धाइरहेको पाइने प्रत्यक्षदर्शीले बताएका छन्। ‘उहाँ यहाँ आइरहनुभएको हामीले देखेका छौं, हाइड्रोपावरको कम्पनीमा लामो समय बसेर फर्किनुहुन्छ’, प्रत्यक्षदर्शी भन्छन्,‘केही कारोबारको विषय हुनसक्छ।’
उच्च स्रोतका अनुसार सुसनका नाममा त्यहाँस्थित हाइड्रोपावरमा श्रेष्ठको लगानी रहेको छ। सोही लगानीको शेयरको विवाद बढेपछि कमानसिंहले मध्यस्तताका लागि श्रेष्ठलाई गुहारेको स्पष्ट छ। श्रेष्ठले भनेका छन्,‘तपाई पनि मेरो मान्छे, सुसन र इन्द्रा पनि मेरो मान्छे, परिवारभित्र कुरा मिलऔं।’
यस क्रममा कमानसिंहले ८ करोडको प्रोजेक्टमा २ करोड ५० लाखको हिस्सेदारी सुसनको नाममा पैसा नै नलिई दिएको तर आफू आठै करोडको ब्याज तिर्न नसक्ने बताइरहेको पाइन्छ।
स्रोतका अनुसार बागमती अपार्टमेन्टमा रहेको हाइड्रोपावरको कार्यालय सुसनको हो। जहाँ कमानसिंहले आफूलाई बस्न समेत नदिएको र दबाबका आधारमा बाहिर राखेको भनी आफन्तसँग गुनासो गर्दै आएको बुझिएको छ।
उच्च स्रोतका अनुसार श्रेष्ठ परराष्ट्रमन्त्री भएका बेला सुसनको आर्थिक हैसियत ह्वात्तै बढेको थियो। सोही समयमा उनले आफ्ना पति लक्ष्मणकृष्ण राजभण्डारीलाई जापान पनि पठाएको बताइएको छ।
उनी जापानबाट फर्किएर आएपछि पाटनमा जापानिज भाषा स्कुल ठूलो लगानीमा खोलिएको छ।
‘सुसनको परिवार हिजोसम्म करोडौंमा खेल्ने परिवार होइन। जब श्रेष्ठ शक्तिमा आए उनीहरूको आर्थिक अवस्था ह्वात्तै बढेको देखिन्छ’, उनलाई चिन्नेहरूको दाबी छ,‘नेकपामा श्रेष्ठ झन् शक्ति केन्द्रमा पुगेपछि थामिनसक्नु छ।’
तस्बिर साभार कान्तिपुर
यो पनि पढ्नुहोस्