विवादको विन्दुमा नेकपा प्रवक्ता श्रेष्ठः कमानसिंहसहित सुसन र इन्द्राबीचको नालीबेली


काठमाडौं– कोरोना संक्रमणका कारण निधन भएका पूर्वराजदूत, पूर्वसांसद तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाले भर्चुअल पत्र र सार्वजनिक भएको एउटा भिडिओका कारण नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ट विवादको विन्दुमा उभिएका छन्।

श्रेष्ठले एउटा हाइड्रोको शेयरका विषयमा मध्यस्तता गरेको सार्वजनिक गरेका छन्। तर त्यो विवाद हाइड्रो कै हो भन्नेचाहिँ पुष्टि भएको छैन भने यस्ता विवादमा किन आफू अग्रसर भएको भन्ने विषयमा उनले थप तर्क गरेका छैनन्।

भिडिओ र अडिओमा देखिएका सुनिएका कतिपय संवादमा लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने कोशीशमा श्रेष्ठ देखिन्छन्। ८ करोडको प्राजेक्ट लगानीका क्रममा साढे दुई करोडको ब्याज एक्लै तिर्नुपर्ने आफ्नो सकस रहेको विषयलाई लामाले निक्कै जोडतोडका साथ श्रेष्ठसँग गुनासो गरिरहेका छन्।

तर विवाद मिलाउने मेसोमा श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको आधारमा लामालाई नै व्यवाहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ। सो क्रममा श्रेष्ठले भन्छन्,‘तपाई, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे। मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्।’

यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गरेका छन्। बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गरेको स्पष्ट सुन्न सकिन्छ।

हेर्नुहोस् इन्द्राको फेसबुक स्टाटस

यति मात्र नभएर विगत ७ महिनादेखि लामाकी पत्नी रहेकी इन्द्राले पनि सम्पत्तीका लागि नै जोडबल गरेका कारण आफू तनावमा रहेको उनले उल्लेख गरेका थिए। यो विषयलाई गहनताका साथ अध्ययन गर्दा इन्द्राले अस्पतालमा भएका लामालाई बेवास्ता गरेको देखिन्छ। सामाजिक सञ्जालमा आफ्ना पतिको स्वास्थ्य लाभको कामना नगरेकी इन्द्राले उनले केही दिनअघि लेखेको पत्रको भने जवाफ मात्र फर्काएकी छन्, कटाक्ष रुपमा।

निधनअघि लामाले श्रेष्ठलाई संकेत गरी द्रव्यपिसाच समेत भनेका छन्। उनले भर्चुअल चिठिमा लेखेका छन्,‘हाम्रा माहान पार्टीका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’

उनले पत्नीलाई सामाजिक सम्बन्धबारे प्रश्न गर्दै चलअचल भौतिक सम्पत्ती प्रतिको आशक्ति देखाएको र आफूलाई वास्ता नगरेको विषयमा पनि प्रश्न गरेका छन्। यसले स्पष्ट के पार्छ भने विगत ७ महिनायता पत्नीसँग पनि उनको सम्बन्ध राम्रो थिएन। सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘मेरो मृत्युपछि अन्तिम संस्कारमा सहभागी नहुनु।’

को हुन् सुसन?

श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री रहेका बेला सुसन उनकी स्वकीय सचिव थिइन्। सुनस र इन्द्राको मित्रताका कारण लामाको पनि सम्बन्ध श्रेष्ठसँग बनेको थियो। व्यापारिक क्षेत्रमा पनि सक्रिय रहेका कारण लामालाई सोही बेला दक्षिण कोरियाका लागि श्रेष्ठको प्रस्तावमा नै राजदूत बनाएर पठाइएको थियो, त्यसवापत उनले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरेका थिए।

यो विवाद यत्तिमै सीमित थिएन। राजदूतबाट फर्किएपछि आर्थिक अवस्थामा कमजोर हुँदै गएका लामाले व्यावसायीक घाटाको विषयमा बारम्बार प्रश्न उठाउँदा श्रेष्ठको मध्यस्ततामा मिलाउने कोशीश भयो। सोही क्रममा उनलाई थामथुम पार्नका लागि नेकपा केन्द्रीय सदस्यमा मनोनित समेत गरिएको थियो। यी सबै घटनाक्रमको समन्वय सुसनले गरेको स्रोतहरूले बताएका छन्।

प्रवक्ता श्रेष्ठको नीजि स्वकीय सचिव रहेकी सुसनसँगको सम्बन्धका कतिपय चर्चा पहिले पनि चलेका थिए। उनले आफ्नो निवासमा श्रेष्ठसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर खाना समेत खुवाएकी थिइन्।

प्रतिक्रिया