कांग्रेस निर्वाचन संयोजक यादवको राजीनामा स्वीकृत, संयोजकको जिम्मेवारी घिमिरेलाई


काठमाडौं — नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मुखमा केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरेको छ।

यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको छ। यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन्।

साथै निर्वाचन समितिको  संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ। उनी निर्वाचन समितिका सदस्य थिए। उनी वरिष्ठ अधिवक्ता पनि हुन्।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएका थिए। तर कांग्रेसले जारी गरेको सूचनामा भने स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको उल्लेख छ।

प्रतिक्रिया