
मूल गणनामा छुटेकाहरूको पुनःतथ्यांक संकलन गरिने
काठमाडौं – मूल गणनामा छुटेको भन्ने जनगुनासो बढेसँगै छुटेका व्यक्तिको पुनः गणना गर्ने भएको छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा गणना नभएका (मूल गणनामा छुटेका)हरूको तथ्यांक संकलन गर्ने जनाएको हो ।
सरकारले मूल गणनाका लागि २५ कात्तिकदेखि ९ मंसिरसम्म तोकेको थियो। मूल गणना सकिए पनि छुटेकाहरूको गणना ५ दिनमा सक्ने विभागले जनाएको छ।
विषेश गरी सहरी क्षेत्रमा कोठा भाडामा बस्नेहरूलाई भेट्न मुस्किल भएको र दुई सिमानाको बीचमा पर्ने घरहरू छुटेको विभागले जनाएको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘मूल गणना सकिएको छ तर छुटेकाहरूको थप ५ दिनसम्म गणना गर्नेछौँ।’
यसरी छुटेकाको गणना गर्नका लागि विभागले ११७८ नम्बर सञ्चालनमा ल्याएको महानिर्देशक श्रेष्ठले बताए। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणना अभियानमा छुटेकाले विभागले सार्वजनिक गरेको नम्बरमा फोन गरेर टिपाउन सक्नेछन्।
विभागले गणनाबाट छुटेकालाई सोही नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ। विभागले सञ्चालनमा ल्याएको सो नम्बरमा आएको फोन आए गणकलाई पठाउने विभागले जनाएको छ।



कागजपत्र |
