तास खेल्ने सिडिओलाई कारबाही होइन, पुरस्कृत गरिन्छ!


काठमाडौं – ३ कात्तिकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरीका उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सार्वजनिक स्थानमा तास खेलेको भिडियो बाहिरियो।

तत्कालिन सिडिओ रामकुमार महतो, नेपाल प्रहरीका एसपी सन्तोष सिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठलगायत अरूले पनि तास खेलिरहेको भिडियो सार्वजनिक भएको थियो।

सार्वजनिक स्थानमा जुवा खेलेको भिडियो नै सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरुलाई कारबाही स्वरुप एकैपटक जिम्मेवारीबाट हटाइयो।

कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएपछि कारबाही भएको थियो।

गृह मन्त्रालयले सर्लाही सिडिओमा सह–सचिव बाबुराम खतिवडालाई पठाएर सर्लाहीमा कार्यरत महतोलाई गृह मन्त्रालयमा तानेको थियो। शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारी पाएका अधिकारी नै तास खेलेको पाइएपछि महतोलाई तत्काल कुनै जिम्मेवारी नदिने गृह मन्त्रालय स्रोतले बताएको थियो।

तर, महतो शक्तिको आडमा सर्लाहीबाट तानिएको एक महिनामै राम्रो ठाउँमा सरुवा भएका छन्। सोही प्रकरणमा कारबाहीबाट जोगिएका महतोलाई सामान्य प्रशासन मन्त्रालयले प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रदेश सचिवको जिम्मेवारी दिएको छ।

सर्लाहीको सिडिओ भन्दा शक्तिशाली ठाउँमा सरुवा भएका महतोलाई गत बुधबार बसेको मन्त्रीस्तरीय निर्णयबाट प्रदेश सचिवको जिम्मेवारी दिएको हो। मन्त्रालयले एकैपटक ४९ जना सहसचिवको सरुवा निकालेको सूचीमा महतोको नाम ४५ नम्बरमा छ।

‘सर्लाही सिडिओ भन्दा शक्तिशाली हो मन्त्रालयको प्रदेश सचिवको जिम्मेवारी,’ एकजना सहसचिवले भने, ‘यसरी शक्तिको आडमा मन्त्रालयले विगतलाई नहेरी विवादित व्यक्तिलाई जिम्मेवारी दिने गरेको छ।’

सार्वजनिक स्थानमा जुवा खेलेको भिडियो सार्वजनिक भएसँगै सिडिओ महतोमाथि सरकारले कारबाही गरेर तत्काल कुनै जिम्मेवारी दिनहुँदैन्थ्यो। ‘तर, राजनीतिक पार्टीको आडमा महतोले आफूलाई कारबाहीबाट जोगाएर झनै शक्तिशाली ठाउँको जिम्मेवारी पाए,’ ती सहसचिवले भने।

पियनबाट जागिर सुरु गरेका महतो सहसचिव भएको १ वर्ष पुगेको छ। सहसचिव भएर ४ महिना कञ्चनपुरको सिडिओ भएका महतो विवादमा आएसँगै त्यहाँबाट हटाइएका थिए। त्यस्तै सर्लाहीको जिम्मेवारी सम्हालेका महतो पुनः ४ महिनामै हटाइएका हुन्।

उपसचिव हुँदा सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहँदा त्यतिबेला प्रदेश सांसदले महतोलाई धम्की समेत दिएका थिए। यसरी हरेक ठाउँमा गएर विवादमा तानिएका महतोको प्रदेश २ सांसद सञ्जय यादवसँग टक्कर परेको थियो।

महतोसँगै बसेर जुवा खेलेका सर्लाहीका एसपी राठौरलाई तानेर प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठायो। त्यस्तै सशस्त्र प्रहरीको सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाएको थियो।

प्रतिक्रिया