वर्षासँगै आएको बाढीका कारण झापामा ३६१ परिवार विस्थापित


झापा – लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ ।

कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

अझै पनि आफ्नो सम्पतिको सुरक्षा नहुने भन्दै गौरीगञ्ज -१ होक्लाबाडीस्थित डुबान क्षेत्रका कतिपयले सुरक्षित स्थानमा जान नमानेपछि डुबान क्षेत्रमा बिहानैदेखि प्रजिअ तिम्सिनासहित, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी निरीक्षक रमेशकुमार पाण्डे, चारआली श्रीनाथ गणका गणपति अमरजङग थापालगायतको टोली पुगेको छ ।

टोलीले उनीहरुलाई सम्झाइबुझाइ गरेर सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुटलगायतका खानेकुरा स्थानीय तहको समन्वयमा वितरण गर्ने काम गरिरहेको छ । ‘सुरक्षित स्थानमा सारिएका सबैलाई खाना पकाएर खुवाउने स्थिति छैन’, प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भने, ‘पालिका आफैंले ड्राइफूडको व्यवस्था गरेर खाने व्यवस्था मिलाएको छ ।’

डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको उनले बताए । उनले डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताए ।

प्रतिक्रिया