एयरपोर्ट अगाडिको होटल बाल्टिकमा श्रममन्त्रीको ‘स्टिङ अपरेशन’!


काठमाडौं – बुधबार बिहान नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको बाल्टिक होटलमा पुगेर ‘स्टिङ अपरेशन’ गरेका छन्।

कोरिया उड्न लागेका नेपाली श्रमिकहरुबाट होटलले प्याकेजको नाममा पैसा असुलेको सूचना पाएपछि मन्त्री श्रेष्ठले होटलमा पुगेर सञ्चालकलाई चेतावनी दिनुका साथै असुलेको रकम फिर्ता गर्न निर्देशन दिए।

श्रमिकहरुमाथि शोषण भइरहेको सूचना मन्त्री श्रेष्ठलाई मंगलबार राति पुगेको थियो। तर, राति नै नगएर मन्त्री श्रेष्ठ बुधबार बिहानै होटलमा पुगेर सो विषयमा सोधखोज गरे। सोधखोज गर्ने क्रममा उनीहरुबाट दुई दिन बढीको भाडा होटलले असुलेको रहेछ।

मन्त्री पुगेपछि पीडितहरुले गुनासो पोखे। कोरिया जानुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै अजय सोडारी भन्ने मान्छेले नबसे तिमीहरुको फ्लाइट नै क्यान्सिल गरिदिन्छु भन्दै धम्की दिएको काठमाडौं टिकाथलीका लक्ष्मण लामाले मन्त्रीसमक्ष गुनासो राखे।

‘त्यसैले मलगायत साथीहरु बाध्य भएर यस होटल क्वारेन्टाइनमा बसिरहेका छौ। आज पाँच दिन भयो। आज साँझ हाम्रो उडान छ। हामी बसेको पाँच दिन भयो, तर हामीले सात दिनको प्याकेजको पैसा तिरेका छौं,’ लामाले सुनाए।

एक्लै कोठामा बस्ने भए दिनको २५ सय र दुईजना बसेमा २२ सय रुपैयाँ दिनको तिरेका समेत लामाले बताए। ‘हामीले पाँच दिनको १२ हजार पाँच सय हुनुपर्नेमा सात दिनको १७ हजार पाँच सय तिरेका छौं।’

यसरी होटलले बढी भन्दा बढी रकम असुलेको सुनेपछि मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बोलाएर सोधे– ‘यस्तो कसले भनेको हो। तपाईंसँग कसले सम्झौता गरेको यस्तो दोब्बर पैसा लिनपर्छ भनेर? बढी लिएको पैसा तुरुन्त फिर्ता गर्नुस्।’

त्यतिमात्र होइन होटलमा पीसीआर परीक्षण गर्दा समेत २ हजार लिने गरेको पाइएको छ। पीडितहरुको भनाइ अनुसार २ पटकसम्म चार हजार रुपैयाँ तिरेर पीसीआर परीक्षण गरेका छौं।

त्यसपछि त्यसपछि मन्त्री श्रेष्ठले उनीहरुलाई आश्वासन दिँदै जे नहुनु थियो, भयो। अब त्यस्तो हुने छैन। तपाईंहरुबाट बढी लिएको रकम फिर्ता हुन्छ। यहाँहरुले जाने बेला तनाव खेप्नुपर्यो। यसका लागि म सरकारको तर्फबाट माफी चाहन्छु।’

यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाएका अजय शोडारी यसअघिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सचिवालयमा कार्यरत थिए। उनले कोरिया उड्ने तयारीमा रहेका ८२ जनालाई होटलमा थुनेर पैसा असुलेका थिए।

प्रतिक्रिया