ठेकेदार शर्माले झिके क्षेत्रीय सदस्यमा दिएको आफ्नो उम्मेद्वारी!


दाङ । दाङमा पत्रे खोला र कटुवाखोलामा पुल समयमै निर्माण नगरेकै कारण चरम आलोचना खेपेका ठेकेदार पदम शर्माले पार्टी नेता र कार्यकर्ताको चर्को दबाबपछि पार्टीको क्षेत्रीय सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन्।

ठेकेदार शर्मालाई राजनीतिक रुपमा कांग्रेसले र त्यसमा पनि संविधानसभा सदस्य राजु खनालले संरक्षण गरेको आरोप गएको चुनावमा एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराले लगाउँदै चुनावमा भाषण गरेका थिए।

ठिक, त्यसैलाई पुष्टि हुनेगरि संविधानसभा सदस्य खनाल र क्षेत्रीय सभापति भुपबहादुर डाँगीको समूहबाट नै ठेकेदार शर्माले कांग्रेस दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा उम्मेद्वारी दिए।

त्यसपछि केही सञ्चारमाध्यममा पत्रे र कटुवाखोलाको ठेकेदार शर्मा नै खनाल र डाँगीको समूहबाट क्षेत्रीय सदस्यको उम्मेद्वार बन्न लागेको समाचारहरु आएपछि नेताहरु अन्तिमसम्म पनि उक्त पदमा उनलाई उम्मेद्वारको रुपमा उभ्याउन चाहेका थिएनन्।

चुनावमा एक भोट पनि अन्त जाने डरले नेताहरुले सार्वजनिक रुपमा केही नबोलेपनि भित्रभित्रै असन्तुष्टि जनाएका थिए। तर, सोमबार संस्थापन समूहबाट नै ठेकेदार शर्माले उम्मेद्वारी दर्ता गरि छाडे।

आज बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ। सोमबार साँझ नै उनलाई उम्मेद्वारी झिक्न नेताहरुले हरप्रयास गरे। खनाल र डाँगीले शर्मालाई मनोनितमा ल्याउने आश्वासन दिँदै प्रत्यक्ष चुनाव नलड्न र उनको अवस्था निकै कमजोर हुने आँकलन गरेपछि उम्मेद्वारबाट ब्याक हुन निर्देशन दिए।

एकाएक त्यो समूहले शर्मालाई उम्मेद्वारी फिर्ता लिएर पछि हट्न सुझाव दियो। त्यसपछि मलिन अनुहार लगाउँदै शर्माले आफ्नो उम्मेद्वारी झिकेका हुन्।

ठेकेदार शर्मालाई उम्मेद्वार बनाउँदा सर्वसाधारणमा नराम्रो सन्देश जाने र त्यसमा पनि उम्मेद्वार बनाउने नेताहरुको आलोचना हुन थालेपछि एकाएक सदस्यबाट ब्याक गराइएको खनाल–डाँगी निकट एक नेताले बताए।

१० बर्ष बितिसक्दा पनि आफूले जिम्मा लिएको पुल समयमै नबनाउँदा तत्कालीन समयमा विप्लव नेतृत्वको नेकपाले कालोमोसो नै दल्यो। तत्कालीन दाङका प्रजिअ रामबहादुर कुरुम्बाङ्ले दिएको निर्देशन पनि अवज्ञा गर्दै पुलको काम गरेनन्।

त्यस्तै घोराही–तुलसीपुर फोरलेन सडक पनि अलपत्र अवस्थामै छ। तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डे नै फोरलेनका ठेकेदार हुन्।

एमालेका केन्द्रिय सदस्य समेत रहेका मेयर पाण्डेकै छोरा काम नगरेकै कारण कारबाहीस्वरुप कालोसूचीमा पर्ने भएपछि उनले रातारात आफ्नो गुट परिवर्तन गरेर एमाले अध्यक्ष केपि शर्मा ओलीको गुटमा प्रवेश गरे।

घनश्याम एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल निकट छन्। निवर्तमान मुख्यमन्त्री समेत रहेका पोखरेलले आफू ३ बर्ष सत्तामा हुँदा फोरलेनको कुनै काम अघि बढाएनन्। बरु मेयरका छोरा घनश्यामलाई राजनीतिक संरक्षण दिएर कारबाहीबाट बचाइरहे।

राजनीतिक संरक्षण गरेकै कारण पोखरेलको जनस्तरबाट तिब्र आलोचना छ।

प्रतिक्रिया