
कालोपत्रेमा ढिलाई भएको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध
ललितपुर – उपत्यकाबासीको एक दिनको बिदा मनाउने ठाउँका रुपमा परिचित ललितपुरको गोदावरी जाने सडकखण्डको कर्मनाशादेखि टौखेलसम्मको खण्ड कालोपत्रे नगरेको भन्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका छन् ।
कर्मनाशादेखि गोदावरीसम्मको साढे ७ किलोमिटर सडकखण्डमध्ये कर्मनाशा–नोबेल अस्पतालसम्मको ४.१६ किलोमिटर सडक खण्डको निर्माणकार्यको ठेक्का पाएको सीएम कन्स्ट्रक्सनले समयमा काम नगर्दा स्थानीयले पटकपटक सडक अवरुद्ध गरेपछि यातायात बन्द भएको हो ।

सडक कालोपत्रे समयमै नभएपछि स्थानीयले बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर बाटो बन्द गरेका छन् । यसबाट सातदोबाटोबाट गोदावरी जाने सर्वसाधारणहरुलाई प्रत्यक्ष असर परेको छ ।
पीच नभएपछि आक्रोशित बासिन्दाले यातायात चल्न नदिएको प्रहरीले जनाएको छ । प्रहरी-प्रशासनले स्थानीय बासिन्दा र निर्माण कम्पनीबीच वार्ता गरी मिलाउने प्रयत्न भइरहेको जनाएको छ ।
नोबेल अस्पतालदेखि गोदावरीसम्मको ३.५ किलोमिटर खण्ड भने सामानान्तर/लामा जेभीले ठेक्का पाएको छ । उक्त खण्डमा निर्माण कार्यमा कुनै बाधा उत्पन्न नभएको बताउँदै अर्को खण्डमा यातायात अवरुद्ध भएपछि गोदावरीतिर पीच गर्ने काममा पनि बाधा पुगेको जनाइएको छ ।

‘हाम्रो पीच गर्ने काम अन्तिम चरणमा पुगेको छ’ लामा र समानान्तर जेभीका प्रोजेक्ट म्यानेजर रोजन हेमिखाले भने, ‘तर कर्मनासा बाँडेगाउँका बासिन्दाले बाँडेगाउँ र हरिसिद्धिमा अवरोध गरेपछि हामीलाई निर्माण सामाग्री ढुवानीमा समस्या उत्पन्न भएकोले हाम्रो काममा पनि बाधा पुगेको छ ।’
गोदावरी बाँडेगाउँका एक स्थानीयले कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको बताउँदै खाल्डा–खुल्डीका कारण धेरै सवारीहरु दुर्घटनामा परेको बताए । यसअघि अघिल्लो वर्ष पनि उक्त खण्डमा काम अवरुद्ध हुँदा नोबेल अस्पतालदेखि गोदावरी खण्डको निर्माण कार्यमा पनि असर परेको थियो । उक्त सडक खण्ड आगामी चैत मसान्तभित्र निर्माण गरिसक्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।



कागजपत्र |
